CREAM OF RHYTHM

13

जिन्दगीमा सोच परिवर्तन हुन कुनै ठुलो कारण हुनु जरुरि नहुदो रैछ |
भविस्यमा केहि बन्छु भन्ने सपना कसको हुँदैन र ? मेरो पनि कुनै न कुनै रूपमा ठुलो मान्छे बन्ने सपना थियो / तर अन्यौलमा थिएँ कैले डाक्टर, कैले इन्जिनिएर त कैले बिजनेसम्यान बन्ने, तर जस्तो माहौलमा जन्मियो त्यसको प्रभाब पनि निक्कै पर्दो रहेछ / म एउटा मध्यम वर्गको परिवारमा जन्मेको मान्छे कलाकार बन्ने सपना निक्कै पछि मात्र मेरो जिन्दगिमा आएको थियो / पहिलो कारण त मेरो घर परिवारमा कुनै संगीतमय वाताबरण थिएन भने दोस्रो मेरो आमा बुबा आफ्नो छोरा संगीत जस्तो अव्यवसायिक पेशामा लागेर आफ्नो भविस्य बिगारेको हेर्ने इच्छा राख्नुहुन्न थियो / शायद, हाम्रो देशमा संगीतमा लागेर अहिले सम्म कुनै पनि कलाकार आर्थिक रुपमा सफल उदाहरण बन्न नसकेको कारणले पनि हुन सक्छ या त देशले मौखिक सान्त्वना बाहेक अहिले सम्म कुनै कलाकारलाई उदाहरणीय र उपयुक्त ठाउँ नदिएकोले पनि हुन सक्छ / तर, जहाँ इच्छा त्यहाँ उपाय भने झैं चाहँदा नचाहँदै संगीत मेरो जिन्दगिमा सौख बाट बिस्तारै व्यवसायमा परिणत हुँदै गयो /
जन्म देखि मृत्युसम्मका हरेक अवसरका लागि फरक फरक संगीत रहेको हाम्रो समृद्ध संस्कृति अन्तर्गत हरेक पूजा, जात्रा, भजन र उत्सवहरुमा प्रयोग गरिने विभिन्न बाजा र धुनहरुलाई मैले पनि अन्यले झैँ फरक महत्त्वका साथ बुझ्ने प्रयास कहिले पनि राखेको थिईन / म पनि सिनेमा, टेलिभिजन र इन्टरनेटको पाश्चात्य आक्रमणको प्रभावमा परे र पाश्चात्य संगीतमै प्रभावित भएर आफ्नो गीत संगीत सृजना गर्न थालें / दूई दशकको लगातार मेहेनत र परिश्रम पश्चात मलाई बिस्तारै युवा संगीत प्रेमीहरु माझ स्थापित र चर्चित पनि बनायो / देश र बिदेशमा धेरै नै सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गर्ने मौका पनि पाएँ र प्रशंसा पनि पाएँ /
मेरा समकालीन साथीहरु आज कोहि ठुल्ठुला डाक्टर भएका छन्, कोहि इन्जिनिएर, कोहि सफल बिजनेसम्यान, कोहि के त कोहि के… तर मनमनै मलाई लाग्थ्यो कि – मैले पनि आफ्नो जिन्दगीलाई खेर फालेको छैन ! आज धेरै थोरैले मलाई पनि त चिन्छन, संगीतमा मैले पनि केहि न केहि त गरेकै छु / कुनै गुनासो थिएन मलाई / तर एक दिन मेरो सांगीतिक दौरानको क्रममा एक जना विदेशीले केहि वर्ष अघि बिदेशमै मेरो एउटा कन्सर्ट हेरेर मलाई एउटा प्रश्न गर्यो – मैले तिम्रो गीत संगीत किन सुन्ने ? तिम्रो भाषा म बुझ्दिन र तिम्रो संगीत पनि हाम्रो जस्तै छ / तिम्रो आफ्नो केहि छैन ? मसंग उसको प्रश्नको कुनै जवाफ थिएन /
012

यही प्रश्नले नै मेरो सम्पूर्ण सोच परिवर्तन गरिदियो / वास्तवमा उनीहरुकै बाजा र उनीहरुकै जस्तो संगीत गरेर आफुलाई र आफ्नो देशलाई कसरी चिनाउन सकिन्छ र विश्व सामु? आफुलाई चिनाउन त आफ्नै कुरा चाहिन्छ, आफ्नै मौलिकता चाहिन्छ / जुन बाटोमा म छाती खोलेर हिडिराखेको थिएँ त्यो बाटो त गलत नै होकी ? किन भने दूई  दशकको मेरो त्याग र तपस्या पश्चात पनि आफ्नो कुनै मौलिक पहिचान नभएको एउटा सानो प्रश्नले साबित गरिदियो / के यो मेरो जीवनको बीसौं वर्ष ब्यर्थैमा गएको हो र ? भनेर सोच्न मलाई बाध्य बनायो / आफ्नो दूई दशकको मान्यता र लोकप्रियतालाई त्यत्तिकै दाऊमा लगाउन पनि सकिन्न थियो / तर मनले स्वीकारिसकेको एउटा अहम तथ्यलाई त्यसै नजरअन्दाज गर्न पनि सकिएन र मैले बिस्तारै यसको जवाफ र आफ्नो पहिचान तथा आफ्नो जिन्दगिको अर्थ बनाउनका लागि बिस्तारै पौराणिक बाजाहरुको खोजिनिती गर्न थाले /

सुरुमा यी बाजाहरु खोज्न र बुज्न यति गाह्रो  होला भनेर सोचेको पनि थिइन कारण हाम्रो संस्कृति र परम्परा अनुसार मैले त जन्मे देखि यी बाजाहरुलाई हर पल हर क्षण सुन्दै र हेर्दै आएकै हो कहिले भजनको रुपमा कहिले जात्रा को रुपमा त कहिले पूजाको रूपमा तर पनि एउटा गिटार र ड्रम जस्तो मनोरंजनात्मक संगीत स्वरुप कहिले पनि लिन सकेको थिएन / जब बिस्तारै गहिरिएर बुज्न थालेपछि बल्ल देखें कि हामी संस्कृतिक रूपमा कति धनी रहेछौँ  ति पौराणिक बाजाहरुमा / सुरुमा एउटा साधारण डमरु बाट बुज्न शुरु गर्यौं जसको लागि पशुपतिमा मात्रै कैयौ दिन बितायौं र त्यहाँका साधु सन्तहरु लगाएत धेरै ज्ञानी गुरुहरुसित अनगिन्ति ज्ञान संकलन गर्यौं / सुरुमा त आत्तिएँ पनि त्यति साधारण डमरुलाई बुज्न यति गाह्रो छ भने अरु कस्तो होला / डमरुलाई त हामीले दशैं जस्तो चाड पर्वमा बच्चाबेला खेली खेली बजाउन्थ्यों / सोचेको पनि थिइन कि यति साधारण बाजाको यति धेरै इतिहास, बोल तथा मौलिकता होला भनेर / यसै क्रममा हामीले अर्को साधारण बाजा मादललाई लियौं जसको त असली स्वरुप त झन् हामीले कहिल्यै पनि देखेका रहेन छौं / जुन मादललाई हामीले अहिले सम्म देख्दै र बजाऊंदै आएका थियौं त्यसको सुरुको स्वरुप त अर्कै पो रहेछ / हामीले देखेको मादल त एउटा साधारण खोपेको काठको दायाँ र बायाँ छाला र खरी प्रयोग भएको देख्छौं तर सुरुमा मादल त्यस्तो नभई एउटा बाँसमा अर्को काटेको भागलाई थर्काएर मुरली जस्तै बजाउने पो रहेछ जसलाई धेरै पछि गएर सरल तरिकाले जसले पनि बजाउन सक्ने गरि बनाएको रहेछ र त्यसै कारण अरु बाजा भन्दा धेरै प्रचारमा आएको यहि अनुसन्धानमा देखियो /
011
यस्तो यस्तो बाजा पनि देखियो कि जसलाई अहिलेनै जोगाउन सकिएन भने सायद हाम्रो पछिका पुस्ताहरुले हेर्न नै पनि पाउने छैन / कुनै यस्तो बाजाहरु पनि भेटें जुन बाजा खाली पुर्णिमाको दिन त्यो पनि पुजा पश्चात मात्र हेर्न वा बजाउन मिल्दो रहेछ / यस्तो बाजाको इतिहास र परम्परालाई म धेरै सम्मान पनि गर्छु तर यी बाजाहरुको संरक्षण कसरि हुन सक्छ भन्ने मनमा ठुलो प्रश्न बारम्बार नउठेको होइन, किनकि पुर्णिमा आउने कहिले ति बाजालाई देख्ने वा सिक्ने कहिले र सिकाउने कहिले ? सबै भन्दा ठुलो चुनौती हामीलाई तब आयो जब एकै बाजा पनि फरक फरक ठाउँ अनुसार फरक फरक शैली को प्रस्तुति पायौं / यस्ता अन्यौलतापूर्ण प्रस्न कसरि र कहाँ बाट जन्मेको हामीलाई ठम्याउन पनि धेरै नै गाह्रो भयो / शायद हाम्रो पुर्खाहरुबाट सहि तरिकाले यसका ज्ञानहरु हामी सम्म नपुगेको हो या हाम्रा यी बाजाहरुको यसरीनै हुनुपर्छ भन्ने कुनै लिखित तथ्य को कमि भएर हो तर पनि हाम्रो अनुसन्धानकै क्रममा धा: खिं, न्याखिं, धिमे, नगडा, दमाहा, डम्फु जस्ता अरु पनि धेरै बाजाहरुलाई नजिकबाट हेर्ने र बुज्ने मौका पायौं /

संगीत र बाजाहरु प्रतिको चाख र मोहले एउटा अनौठो विश्वास जन्मिन थाल्यो मेरो मनमा र बिश्वस्त भएँ – अन्य देशका बाजाहरुले नेपालमा लोकप्रियता पाउन सक्छन भने हाम्रा बाजाहरु किन विश्वमा परिचित हुन र लोकप्रिय बन्न सक्दैनन ? यहि विश्वासका साथ् म र विगत १० वर्षदेखि मलाइ साथ् दिइराखेको मेरो ब्याण्ड रिदमका मुख्य सदस्यहरु जस्तै:-
रिक्की शाक्य:- जो ड्रमर को रुप मा यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैछन /
फिरोज बज्राचार्य:- जो गिटार मा आफ्नो कौशलता देखाई राखेको छ /
रोजन कायस्थ:- जसले पनि  गिटार मा आफ्नो खुवी देखाई राखेको छ /
बिक्की शाक्य:- जसले bass गिटारमा  आफ्नो दक्षता देखाई रहेको छ /

यो टोलि सहित विभिन्न लोक बाजाहरुको महत्ता र उपादेयताको अर्को खोजीमा हामी लाग्यौं / यसलाई अगाडी बढाउन त्यतिनै कठिनाइ पनि महशुश भयो किन भने राम्रो काम मा भाँजो हाल्ने र खुट्टा तान्ने प्रवृति भएको हाम्रो देशमा यिनीहरु आफुले गरेको काममा असफल भएर अब अर्को खोजि गर्दै छन् भन्ने सम्म को लाञ्छना लगाउने हरु पनि भेटिए / मेरो यो band आफै मा सफल भएर विभिन्न देशमा पुगेर आफ्नो क्षमता प्रदर्शन गरेर देश विदेश मा समेत छुट्टै पहिचान बनाउन सफल भएको तथ्य कसै बाट लुकेको छैन त्यति हुँदा हुँदै  यूरोप अमेरिका मा सयौं कार्यक्रम गर्दा पनि उनीहरुलाई उतै पलायन हुने लालसा कहिल्यै पलाएन बरु मेरो उद्देश्यलाई नै आफ्नो उद्देश्य मानेर देशकोलागी केहि गर्नु पर्छ भनेर प्रत्येक सदस्यले विभिन्न पूर्वीय वाजाहरु सिक्दै अगाडी बढ्दै छन्  /

विभिन्न समुदाय र संस्कृतिका यी बाजाहरुको बर्षौको अध्ययन संगै मेरो सोच विश्वासमा परिणत हुँदैगयो र विभिन्न लोकबाजाहरुको आफ्नो मौलिकता नबिगारी तिनलाई फरक तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान यो अनुसन्धानले नै दियो / म र मेरो ब्याण्ड रिदमका साथीहरु मात्र पर्याप्त थिएनौं यी सबै बाजाहरु सिक्न र बजाउन / बिस्तारै हामी लगायत अरु पनि विभिन्न समुदायका वाद्यवादक साथीहरुलाई खोजि गरि वहाँहरु संग हाम्रो उद्देश्यहरुको बारेमा छलफल गर्न थाल्यौं यो क्रममा उहाँ हरुले पनि हाम्रो उद्देश्य को नतिजा र महत्व बुझेर बिना कुनै आशा आफुमा भएको ज्ञान, शिप र समय यो अभियान को लागि खर्चिनु भयो र हामीले सोचेको भन्दा धेरै गुणा बढी साथ समेत पायौं / सुरुमा लगभग हामी उन्नाइस जना वाद्यवादक साथीहरु एकै  ठाउँमा बसेर संगै अभ्यास गर्न नै पनि निक्कै समस्या खेप्नु पर्यो / हरेक दिन छरछिमेकीले आज कुनै पुजा थियो कि भनेर सोध्ने गर्थ्यो / हुन त अचम्म मान्नु पर्ने कुनै कुरा त थिएन! किनकि हामीसबैले यी बाजाहरुलाई खाली यसैको रुपमा मात्र देख्दै र सुन्दै आएका थियौं / सबै संगै बसी अभ्यास गर्न निकै कठिनाई भएकोले पछि हामीले हरेक दिन एउटा एउटा बाजाको मात्र अभ्यास गर्न थाल्यौं जसको परिणाम सोचे भन्दा राम्रो निक्लिन थाल्यो र यो निरन्तर अभ्यास पश्चात हामीले यी बाजाहरुलाई जात्रा र भजनभन्दा अन्य आधुनिक संगीतमा प्रयोग गरि नया नया संगीतको सिर्जना पनि गर्न थाल्यौं / विभिन्न जातजातिका बाजाहरुको आफ्नो मौलिकता नबिगारी आफ्नो खालको संगीतमा प्रयोग गर्नु मेरो लागि ठुलो चुनौती थियो / तर मलाई यो चुनौतीले यस्तो आनन्द दिन थाल्यो जस्तो पहिलेका कुनै पनि सिर्जनाले दिएका थिएनन् /

यही चुनौतिको सामना गर्ने क्रममा हामी विभिन्न सांस्कृतिक चांडपर्वहरुमा जाने र ती बाजाहरुको महत्व, बनावटका साथै कसरी बजाइनछ र कुन बेला बजाइन्छ भन्ने बुझ्न र अध्ययन पनि गर्न थाल्यौं /  त्यसपछि हामीले ती बाजाहरुलाई आफ्नो मौलिक संगीतमा प्रयोग गरेर रेकर्दिङ्ग गर्न सुरु गर्यौं / सुरुमा यी रेकरडिंगहरुको परिणाम पनि चित्त बुज्दो रहेन! पहिलो कारण त जुन बाजाहरु भजन, जात्रा जस्तो प्राकृतिक वातावरणमा सुनिरहेको हाम्रो कानलाई एक किसिमको कृतिम तरिकाले स्पिकरहरुमा सुनेर चित्त बुझाउन सकिएन / तर पनि हार नमानिकन हामीले स्टुडियोमा मात्र सिमित नबसी त्यस्तै किसिमको  वातावरणमा गएर त्यस्तै खालको ambiance पनि रेकर्ड गर्न थाल्यौं  र बल्ल चित्त बुझायौं / अनि यस्ता प्रयोगलाई ती बाजाका ज्ञाताहरुलाई सुनाएर तिनका सल्लाह र सुझाब समेत संकलन गर्न थाल्यौं / तिनै गुरु, बाजाबिज्ञ तथा बादयबादक साथीहरुको सहयोग र सुझाब पछि हामीले अब दुइवटा गीत दुइ वटा अलग अलग भाषा (अंग्रेजी र नेपाली )मा तयार गर्यौं / एउटा एकदमै नया गीत जसको शब्द पनि हामी जस्तै युवा पुस्तालाई प्रोत्साहन मिल्ने खालको छ र अर्को आफ्नो पुरानो दर्शक श्रोताहरु ले मनपराएको  “काली काली हिस्सी परेकी”, “ओं अमीरा”, “मायाको डोरीले” जस्ता गीतहरुलाई नयाँ शैलीमा पुनः रेकोर्ड गर्यौं / जसमा हाम्रो पौराणिक बाजा देखि पाश्चात्य डिजे सम्मको समिश्रण गर्यौं /

यी गीतहरुको सराहना  संगीतविदहरुले गरेपछि मेरो बाटो फेरियो र मैले सम्पूर्ण साथीहरुको साथमा यहि प्रकारको संगीत समेटेर विभिन्न ठाउंमा खुल्ला सांगीतिक कार्यक्रमहरु पनि गरे / जसमध्ये पाटनको मंगलबजारमा अरुपनि धेरै साथी हरुको सहयोगमा एउटा ठुलो सांगीतिक कार्यक्रमको आयोजना पनि गरियो  जसको सहभागिता र सफलता सोचेभन्दा कैयौं गुणा बढी थियो / हाम्रा यी कार्यक्रमले हामीलाई प्रोत्साहित गर्नुका साथै एउटा कुरा राम्रोसंग प्रमाणित पनि गर्यो – आफ्नो भनेको आफ्नै हो / आफ्नो हुँदा स्वाभिमान हुन्छ,आफ्नोमा नै पहिचान हुन्छ र त्यहि आफ्नोपनको आत्मविश्वासले हाम्रो आफ्ना गीत संगीतहरु अझ बढी लोकप्रिय हुने मलाई बिश्वास भयो /
कार्यक्रममा नेपालका कति बाजाहरु समावेश गर्न सकिएको थिएन तर हाम्रो अनुसन्धानको क्रम जारी नै थियो र बिस्तारै अरु छुटेका बाजाहरु पनि समावेश गर्दै र रेकरडिंगहरुपनि गर्दै गयौं / बिस्तारै हामी उन्नाइस सदस्य बाट बढ्दै चौंतीस सदस्य पुग्यौं / हुन त हाम्रो देशमा साधारण चार पाँच जनाको ब्याण्ड पनि धेरै समय संगै मिलेर अघि बढ्न नसकेको धेरै उदाहरणहरु छन् / हामीलाई पनि अभ्यासको लागि सबै वाद्यवादक साथीहरुको समय तालिका मिलाउन गाह्रो नभएको त पक्कै होइन / तर पनि बिना कुनै गुनासो सम्पूर्ण वाद्यवादक साथीहरुको सहयोग निरन्तर पाइनै रहे /उहाँ हरु बिना यो मेरो अभियान कदापी अगाडी बढाउन सक्दैन थियौं / उहाँ हरुको यो साथ् र लगनको अर्थ मैले यो पाएँ कि आजको पुस्तामा मलाई मात्र हाम्रो संस्कृति र पौराणिक बाजाहरुको माया भएको होइन रहेछ / त्यतिमात्र नभई समाज का विद्वत वर्गहरुबाट समेत भरपूर साथ् सल्लाह र मार्ग निर्देशन समेत प्राप्त भयो./

 अलि फरक तरिकाको प्रस्तुति दिन सकियो भने बजाउनेलाई मात्र नभई सुन्नेलाई पनि नया किसिमको अनुभब हुँदो रहेछ भन्ने पनि बिस्तारै प्रमाणित हुँदै गयो र यो नै मेरो मुख्य मान्यता बन्दै गयो र बिस्तारै मेरो सपना साकार हुँदै गएको पनि अनुभब हुन थाल्यो / तरिका जुनै होस् तर हाम्रो संस्कृति सम्पदा हाम्रो पौराणिक बाजाहरु र धुनहरुको संरक्षण नै हाम्रो असली पहिचान र धर्म  हो भन्ने मैले बुझीसकेको छु /  धेरै मेहेनतको नतिजा स्वरुप चार वटा गीतको छायांकन गर्ने विचार हाम्रो मनमा आउन थाल्यो कारण एकदिनको कर्यक्रम त एकैदिनमा सकिन्छ, तर ति गीत संगीतलाई यदि राम्रोसंग रेकरडिंग र छायांकन गर्न सक्यौं भने हामीले यसलाई विश्वको कुनैपनि ठाउँमा पुरयाउन र देखाउन सकिन्छ / त्यहि योजना अनुसार हामीले चारवटै गीतको छायांकन पनि गर्यौं  /

अहिले त दुई बर्षको बच्चाले पनि गिटार किन्नको लागि जिद्दी गरिरहेको अवस्था छ / कुनै दिन त यस्तो आऊला कि जुनदिन कुनै बच्चाले मादल या सारंगी किन्न जिद्दी गर्नेछ र त्यो दिन हेर्न पाए मलाई धेरै खुशी लाग्ने छ / आज हामीले पनि यो बुझ्नु जरुरी छ – अरुको नक्कल हैन हाम्रै परम्परागत कुराहरुलाई आधुनिक प्रबिधि र सोचको प्रयोग गरेर हामीले आफुलाई विश्वसामु चिनाउनु छ र संगीतमा यो सम्भब छ भन्ने कुरा मैले बिस्तारै बुझ्न थालेको छु / जसले गर्दा नेपाललाई विश्वसामु आफ्नो छुट्टै पहिचान दिन र गौरब गर्न सक्ने सांगीतिक सिर्जना दिने कोशिसमा दिलोज्यान दिएर लागेको छु / हामी खाली आजको नेपालका प्रतिनिधि पात्रहरु मात्र हैनौं भोलिको पुस्ताको लागि पनि ऐनाको काम गर्ने पात्र हौँ / आज मेरो लक्ष्यनै हाम्रा आफ्ना बाजाहरुलाई आधुनिक  संगीतमा प्रयोग गर्नु र विश्वलाई – ल सुन यो हाम्रो संगीत हो भनेर सुनाउनुका साथै नया पिंढीलाई हाम्रो आफ्नो पौराणिक बाजाहरु प्रति लगाब बढाउने  कोशिश पनि रहेको छ  /

बिगतका वर्षहरुमा हामीले हाम्रो पौराणिक बाजाहरुलाई नया तरिकाले प्रयोग गरि २-४ वटा गीत संगीत बनाउनुमा मात्र सिमित नराखी हाम्रो सम्पूर्ण नेपाली बाजाहरुको संकलन र संरक्षण गर्ने एउटा थलोको रूपमा विकास गर्ने उद्देश्य लिएर हिंडेका छौं /  जहाँ त्यसका सम्पूर्ण जानकारी दिन सकियोस ति बाजाहरु सहि तरिकाले बजाएर देखाउन र सिकाउन सकियोस /  हाम्रो देशका नयाँ पुस्ता लगाएत बिदेशी संगीत प्रेमी पर्यटकहरु माझ पनि त्यसको सहि परिचय दिन सकियोस  /
जे होस् अब मलाई मेरो जिन्दगीको अमुल्य समय राम्रै संग सदुपयोग भैरहेको अनुभूति भैरहेको छ / मात्र त्यो एउटा प्रश्नको कारण –
प्रश्न सरल थियो तर त्यसको जवाफ त्यति नै कठिन  /
मलाई चाहिन्छ केवल तपाईंको साथ र हौसला /

Share : facebooktwittergoogle plus
pinterest



No Response

Leave us a comment


No comment posted yet.

Leave a Reply